Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Wednesday, 12 September 2012

रामराजाः मृत्युदण्डको फैसलादेखि राष्ट्रपतिको उम्मेद्वारसम्म

रामराजाः मृत्युदण्डको फैसलादेखि राष्ट्रपतिको उम्मेद्वारसम्म



२७ भदौ, काठमाडौं । नाममा राजा झुण्डिएपनि उहाँ कहिल्यै राजतन्त्रको पक्षमा लाग्नुभएन । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री या अरु कुनै ठूलो ओहोदामा नपुगेपनि उहाँले मुलुकलाई गरेको योगदान अरुको भन्दा सानो छैन । ऊबेला पञ्चायती शासनकालको बेला घोर अपराधीको संज्ञा पाएपनि गणतन्त्रवादीको नजरमा सबैभन्दा महान, आदर्श र आँटिलो मान्छे । हो, नेपालका पहिलो गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंह ।
आफूलाई सबैभन्दा क्रान्तिकारी भन्ने माओवादीदेखि अहिलेका सबै पार्टीले उदाहरणीय व्यक्तित्व मान्ने सिंहको बुधबार बिहान निधन भएको छ ।
सिंहको ७७ वर्षअघि सप्तरीको एक धनाढ्य परिवारमा जन्म भएको थियो । उहाँका पिता जयमंगलप्रसाद सिंह पहिलेदेखि नै क्रान्तिकारी व्यक्ति हुनुहुन्थ्यो । रामराजामा पनि बाबुको त्यो स्वभाव सानैदेखि झल्कियो । पञ्चायतको जगजगी रहेको बेला समेत उहाँमा क्रान्तिकारी जोश थियो । ऊबेला कसैले मुख खोलेर भन्न नसक्ने गणतन्त्रको उद्घोष पहिलोपटक उहाँले नै गर्नुभयो । यिनै साहासी नेताको जीवनगाथा बुनेर पत्रकार सिताराम बरालले ‘गणतन्त्रको लागि संघर्ष’ नामक पुस्तक निकाल्नुभएको छ । पुस्तकका लेखक बरालसित कुराकानी गरेर हामीले रामराजाप्रसाद सिंहसित जोडिएका महत्वपूर्ण घटना उल्लेख गरेका छौं ।
९ वर्षकै उमेरमा जेल
वि.सं. २००० सालमा उहाँ ९ वर्षको हुनुहुन्थ्यो । त्योबेला बुबाको साथमा जेल पर्नुभएको थियो । भारतीय स्वतन्त्रताप्रेमी नेताहरु बुबाको साथमा घर आउँदा पक्राउ परे । उनीहरुलाई हनुमाननगर जेलमा राखिएको थियो । पक्राउ परेका भारतीय स्वतन्त्राप्रेमी नेताहरुलाई छुटाउन सिंहका बुबा र गाउँलेहरु मिलेर जेल आक्रमण गरे । त्यसक्रममा सिंहका बुबा जेल पर्नुभयो । बुबालाई भेट्न रामराजाप्रसाद सिंह जेलमा पुग्नुभएको थियो । प्रशासनले उहाँलाई पनि जेलमा हालिदियो । पितालाई भेट्ने र छुटाउन खोज्ने क्रममा उहाँ पनि सानै उमेरमा जेल पर्नुभयो । यी वातावरण र परिवेशले उहाँलाई बाल्यअवस्थामै क्रान्तिकारी बनाउन मद्दत गर्यो ।
०१७ सालमा पर्चा
२०१७ सालमा राजा महेन्द्रले जब पञ्चायती व्यवस्था लादे, त्यतिबेला सबै पार्टीहरु पञ्चायत व्यवस्था बिरुद्ध संघर्ष गर्न थाले । त्यतिबेला रामराजाप्रसाद सिंह भर्खरको २५, २६ वर्षको लक्का जवान हुनुहुन्थ्यो । उहाँ कुनै पार्टीमा हुनुहुन्नथियो । तर पञ्चायती व्यवस्थाको बिरुद्ध कसरी आन्दोलन गर्ने भन्ने जोश उहाँमा थियो । उहाँ नै पहिलो व्यक्ति हो, जसले राजा र राजतन्त्र भनेको पातहरुको प्रतीक हो, त्यसैले राजतन्त्र नै फाल्नुपर्छ त्यसपछि पात नै सकिन्छ भनेर प्रचा निकाल्नुभयो । पुष्पलाल र सुवर्ण शमशेरहरुलाई उहाँले अब सशस्त्र संघर्ष गर्नुपर्छ, राजतन्त्र फाल्नुपर्छ भनेर त्यतिबेलै भन्नुभएको थियो ।
चे ग्वेभारासितको भेट
रामराजा भारतको दिल्ली विश्वविद्यालयमा जब अंग्रेजी साहित्य बढ्दै हुनुहुन्थ्यो, त्यतिबेला चे ग्वेभारा विश्व क्रान्तिका लागि बिभिन्न देशमा आफ्ना प्रतिनिधिहरु पठाएर माहोल बनाउन लागिरहनुभएको थियो । एकजना क्लारा नाम गरेकी युवती दिल्ली विश्वविद्यालय पुगेकी थिइन् । उनकै संयोजनमा रामराजाप्रसाद सिंहले चे ग्वेभारालाई भेट्ने अवसर पाउनुभयो, बर्मा पुगेर । भेटमा चे ग्वेभाराले नेपालमा पनि क्रान्ति गर्न सकिन्छ कि भन्ने एउटा योजना सुनाउनुभयो । तर रामराजाको पनि संगठन थिएन । त्यतिबेला कांग्रेस पनि पञ्चायती व्यवस्था बिरुद्धको आन्दोलनमा थिए । त्यसैले चे ग्वेभाराले कांग्रेसका सुवर्ण शमशेरलाई सन्देश पठाएर नेपालमा संघर्षको योजना सुनाउनुभयो । जब यो सन्देश लिएर रामराजा सुवर्ण शमशेरकहाँ जानुभयो, तब सुवर्णले कम्युनिष्टहरुसँग मिलेर हामी कुनै संघर्ष गर्दैनौं भन्नुभयो । त्यसपछि रामराजा चुप लागेर बस्नुभयो ।
राष्ट्रिय पञ्चायतको सदस्य
२०२८ सालमा रामराजाले स्नातक चुनाव लड्नुभयो । यो भनेको बीए पास गरेकाहरुले मात्र भोट हाल्न पाउने चुनाव थियो । राष्ट्रिय पञ्चायतमा चारजना त्यसबाट चुनिन्थे । त्यसमा चुनाव लड्ने मध्ये उहाँ पनि एक हुनुहुन्थ्यो । ०१९ सालमा राजा महेन्द्रमाथि बम हानेको अभियोगमा फाँसी पाएका दुर्गानन्द झाको बलिदानमाथि सम्मान र त्यसको प्रशंसा गर्दै उहाँले चुनावको घोषणापत्र तयार पार्नुभयो । राजतन्त्रको बिरोध र गणतन्त्रको समर्थनमा उहाँले प्रचा निकालेर चुनाव लड्नुभयो । राजा महेन्द्रको उत्कर्ष शासनकालमा समेत यसरी चुनाव लडेर उहाँले जित्नुभयो । उहाँले मधेसबाट भोट पाउनुभएन । काठमाडौं र पश्चिमी पहाडबाट मात्र भोट पाउनुभयो । चुनाव जितेपछि प्रहरीले उहाँलाई पक्रन लाग्यो । दुई तीन महिना भूमिगत पनि हुनुभयो । राष्ट्रिय पञ्चायतको सदस्यलाई शपथ खुवाउने कि नखुवाउने भनेर त्यतिबेला निकै विवाद भयो । पञ्चहरुबीच नै यसबारे मतभेद थियो । विवादकैबीच पञ्चहरुले नै उहाँको शपथग्रहण गराए । त्यसपछि लगत्तै उहाँलाई निलम्बन गरेर जेलमा हालियो ।
महेन्द्रबाट प्रधानमन्त्रीको प्रस्ताव
रामराजा डरलाग्दा मान्छे हुन् भन्ने कुरा त्यतिबेलाका राजा महेन्द्र र पञ्चहरुलाई परिसकेको थियो । फकाउन सकियो भने रामराजाले आफूहरु बिरुद्ध कुनै कदम चल्दैनन् र सुरक्षित भइन्छ भन्ने उनीहरुलाई लाग्यो । त्यसैले रामराजा जेलमा रहेकै बेला राजा महेन्द्रले उहाँलाई दुई दिनपटक दरबारमा ल्याएर प्रधानमन्त्रीको लागि अफर गरे । तर रामराजाप्रसाद सिंहले भन्नुभयो कि पैसा हरियो होस् या निलो होस् या डलर होस् या अरु कुनै होस् त्यसको कुनै मतलब छैन । यसको लागि हुरुक्कै हुने मान्छे हो भनेर मलाई नसोच्नुस् भनेर रामराजाले महेन्द्रलाई भन्नुभयो । यस्तो जवाफ दिएपछि रामराजालाई फेरि जेलमा कोच्ने काम गरियो ।
२०४२ सालको बमकाण्ड
रामराजा लोकपि्रय त हुनुहुन्थ्यो, तर उहाँको संगठन थिएन । बीपीले केही गर्छन् कि भन्ने उहाँलाई आशा थियो । तर बीपी पनि राजासित मिल्न आएपछि उहाँले जनवादी मोर्चा बनाएर सशस्त्र संघर्षको तयारी गर्नुभयो । उहाँकै योजनामा २०४२ सालमा बमकाण्ड भयो । काठमाडौं सहित झापा, बिराटनगर, जनकपुर, वीरगंज, भैरहवा, कञ्चनपुर लगायत ठाउँमा बम बिष्फोटका घटना भए । गणतन्त्रको लागि सशस्त्र संघर्ष भन्दै गराएको बमकाण्डमा राष्ट्रिय पञ्चायतका सदस्य सहित ३ जनाको मृत्यु भयो । अरु कयौं घाइते भए । उहाँ बिरुद्ध छुट्टै अदालत बनाएर मुद्दा दर्ता गरियो । उहाँलाई मृत्युदण्डको सजाय भयो । त्यतिबेला उहाँ भारतमै हुनुहुन्थ्यो । त्योबेला कांग्रेसहरुले बमकाण्ड दरबारले गराएको भने । किनकी कांग्रेस पनि त्योबेला संघर्षमै थियो । पञ्चहरु च्ाहिं भारतले गरायो बमकाण्ड भन्थे । फेरि त्यही भारतले दरबारसँग कुनै सम्झौता गरेर होला रामराजालाई पक्राउ गर्यो र बंगलादेशको कुनै टापुमा लगेर छोडियो । कतिले उहाँलाई भारतबाट परिचालिन मान्छे पनि भन्थे । तर होइन । किनकी भारतले नै उहाँलाई पक्रने काम गरेको थियो ।
०४६ सालको आन्दोलन
२०४६ सालमा पनि उहाँले पर्चा निकालेर राजनीतिक दलहरुको आन्दोलनमा सहयोग गर्नुभयो । त्योबेला कांग्रेस र संयुक्त बाममोर्चाले शान्तिपूर्ण आन्दोलन गरेका थिए । रामराजाले भने सशस्त्र आन्दोलनमै जोड दिनुभयो । उहाँले बम, बारुद चाहिन्छ भने हामी सहयोग गर्न तयार छौं, हाम्रा सयौं कार्यकर्ता बम पड्काउन खप्पीस छन् समेत भन्नुभएको थियो । तर दलहरुले यसलाई अस्वीकार गरे । २०४८ सालको चुनावपछि सबै साँसदहरुलाई उहाँले गणतन्त्रमा जानुपर्छ भनेर आहृवान पनि गर्नुभएको थियो ।
मृत्युदण्डको फैसला फिर्ता गर्न ढिलाई
२०४६ सालको राजनीतिक परिवर्तनपछि पनि उहाँको मृत्युदण्डको सजाय छँदै थियो । त्योबेला मधेशमा कांग्रेस बलियो थियो । तर रामराजा लोकपि्रय हुनुहुन्थ्यो । त्योबेला रामराजा चुनाव लडेको भए उहाँले जित्नुहुन्थ्यो । कांग्रेस पराजित हुन्थ्यो । ०४२ सालको बमकाण्डपछि उहाँमाथि लगाइएको मृत्युदण्डको फैसला बाँकी रहेकाले उहाँले चुनाव लड्न पाउनुभएन । फिर्ता गर्ने बित्तिकै चुनाव लड्ने र जित्ने सम्भावना भएकाले कांग्रेसले नै मुद्दा फिर्ता लिन आलटाल गरेको थियो । २०४८ सालमा कांग्रेसले चुनाव जित्यो । त्यसपछि रामराजाको मुद्दा फिर्ता लिन दबाब पनि पर्यो । बल्ल गिरिजाबाबु आएर सिंहको मुद्दा फिर्ता लिनुभयो ।
गणतन्त्रका लागि यति धेरै योगदान गरेका कारण एकीकृत नेकपा माओवादीले उहाँलाई राष्ट्रपतिको उम्मेद्वार बनायो । तर, वर्तमान राष्ट्रपति डा. रामवरण यादवसित उहाँ पराजित हुनुभयो ।
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com