२४ भदौ, काठमाण्डौ । प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफूलाई आफुले सोचे अनुरुप काम गर्न नदिइएको भन्दै असन्तुष्टी जनाउनु भएको छ । मुलुकमा संसद नभएका बेलामा अध्यादेश ल्याउनु सरकारको बाध्यता भएको भन्दै उहाँले अध्यादेश रोकिएकोमा असन्तुष्टी जनाउनु भएको हो । कन्या क्याम्पसको ३३ सौँ वार्षीकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री भट्टराईले आफूले अहिले आफ्नो हातखुट्टा बाँधेर सरकार चलाउनुपर्ने अवस्था आएको दुखेसो पोख्नु भयो ।उहाँले राष्ट्रपतितर्फ इंकित गर्दै भन्नुभयो-’संसद् नभएको बेलामा अध्यादेश ल्याउनु सरकारको बाध्यता हो । तर अध्यादेश जारी गर्ने निकायबाट अध्यादेश रोकिएको छ ।’ सङ्क्रमणकालको समय लम्बिँदै जाँदा आफूलाई पीडाबोध भएको भन्दै प्रधानमन्त्रीले भन्नुभयो,’मेरो हातखुट्टा बाँधेर कुर्चिमा राखिएको छ । तपाई आफै भन्नुहोस् अनि मैले कसरी जनताको हितमा काम गर्न सक्छु । ‘
उहाँले प्रतिपक्षी दलहरुले पूर्ण बजेट ल्याउन नदिएर आफूलाई असफल वनाउन लागि परेको आरोप लगाउनु भयो । उहाँले पूर्ण बजेट बिना सरकार सञ्चालन गर्नु परेको गुनासो गर्नुभयो ।
आमाको नाममा अक्षय कोष स्थापना
प्रधानमन्त्री भट्टराईले आफ्नी स्वर्गीय आमा धर्मकुमारी भट्टराईको नाममा व्यक्तिगत रुपमा डिल्लीबजार कन्या बहुमुखी क्याम्पसमा दुई लाखको अक्षयकोष स्थापनाको घोषणा गर्नु भएको छ । भट्टराईले गरिब तथा जेहन्दार छात्राहरुका लागि छात्रवृत्ति प्रदान गर्न भन्दै आफ्नो आमाको नाममा सो क्याम्पसमा दुई लाखको अक्षयकोष स्थापनाको घोषणा गर्नुभएको हो ।
कार्यक्रममा प्रधानमन्त्री भट्टराईले विभिन्न सङ्काय र निकायमा कन्या क्याम्पसबाट सर्वोत्कृष्ट हुने छात्राहरु, क्याम्पस सञ्चालक समितिका बहालवाला र पूर्वसदस्यहरुलाई प्रमाणपत्र र सम्मानपत्र वितरण गर्नुभएको थियो ।
No comments:
Post a Comment
radijaljalanews@gmail.com